| News & Activities |
पाचौं हस्तकला क्रेता विक्रेता भेला २०६७
Posted by Administrator on 2010-12-06
ललितपुर उप महानगरपालिका क्षेत्र भित्रका हस्तकला क्षेत्रमा आबद्ध व्यवसायीहरुलाई आर्थिक एवं सामाजिक रुपमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएको यस स्कोप सहकारी संस्था लि. ले वित्तिय कारोबार बाहेक अन्य विविध कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको छ। यहि क्रममा संस्थाका हस्तकलामा आबद्ध सदस्यहरुको व्यापार व्यवसाय प्रबर्धन गर्ने हेतुले क्रेता र विक्रेतालाई एकै थलोमा ल्याइ हस्तकला क्रेता विक्रेता भेला नियमित रुपमा आयोजना गर्दै आइरहेको छ।
यहि क्रममा यस बर्ष मिति २०६७ मंसिर १० देखि १२ गते सम्म “पाँचौं हस्तकला क्रेता विक्रेता भेला” ललितपुरको पाटन संग्रहालयमा सफलतापुर्वक सम्पन्न भयो। भेला कार्यक्रम नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री प्रचण्ड मान श्रेष्ठ ज्यूले बुध्द प्रतिमामा खादा अर्पण र साथै दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो। संस्थाका अध्यक्ष श्री पुर्ण राज शाक्य ज्यूले उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि. ललितपुरका अध्यक्ष श्री माधव दुलाल ज्यू, नेपाल हस्तकला महासंघका अध्यक्ष श्री विकास रत्न धाख्वा ज्यू, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री धर्म रत्न शाक्य ज्यूले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको क्रममा प्रमुख अथिति श्री प्रचण्ड मान श्रेष्ठ ज्यूले पर्यटन क्षेत्रलाई दिगो रुपमा विकास गर्ने तथा सन् २०११ लाई नेपाल पर्यटन बर्ष मनाउने सन्दर्भमा सारगर्भिक मन्तब्य ब्यक्त गर्नु भएको थियो। उद्घाटन कार्यक्रमको अन्तमा कार्यक्रमको संयोजक श्री यज्ञराज बज्राचार्य ज्यू द्बारा कार्यक्रम बारे जानकारी दिंदै धन्यवाद ज्ञापन गर्नुका साथै सभापति ज्यूले उद्घाटन कार्यक्रम समापन गर्नु भयो।
उद्घाटन कार्यक्रम पश्चात सम्पुर्ण अथिति महानुभावहरुले स्टलहरुको अवलोकन गरिएको थियो। जम्मा १८ वटा स्टल रहेको उक्त भेला कार्यक्रममा २ वटा स्टल संस्थाका सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरुको संयुक्त प्रदर्शनी एवं बिक्रीको लागि छुट्याइएको थियो। प्रदर्शनीमा धातुका मुर्ति, काष्ठकला, प्रस्तरकला, ऊनी (बुनाइ सम्बन्धी) सामाग्री, पस्मीना, चाँदीका गरगहना लगायत हस्तकलाका सामाग्रीहरु राखिएको थियो। ३ दिनका लागि आयोजना गरिएको उक्त भेलाको विशेष आकर्षणको रुपमा नेवारी परम्परागत चित्रकला पौभा प्रदर्शनी रहेको थियो। पौभा प्रदर्शनीमा ललितपुर, काठमाडौं र भक्तपुरका उत्कृष्ट पौभा कलाकारहरुले आफ्नो अमुल्य र आकर्षक पौभा प्रदर्शनी एवं बिक्रीको लागि राखिएको थियो। पौभा प्रदर्शनीले भेला कार्यक्रमको शोभा बढाउन तथा प्रभावकारितामा थप योगदान पुर्याएको थियो।
हस्तकला क्रेता बिक्रेता भेलामा विगत बर्षहरुमा झैं यस बर्ष पनि विश्व शान्ति पुस्तकालयबाट नेवार समुदायको परम्परागत कार्यमा प्रयोग हुने सामाग्रीहरु प्रदर्शित गरिएको थियो। यस पटक विश्व शान्ति पुस्तकालयबाट “बेल बिवाहमा प्रयोग हुने सामाग्री”हरु प्रदर्शनी गरियो। साथै लोटस रिसर्च सेन्टरबाट प्रदान गरिएको मणडलालाई नेपाल परम्परागत चित्रकला तथा मुर्तिकला प्रशिक्षण केन्द्रका कलाकारहरूको कलाकारिताबाट उक्त मण्डलालाई अक्षोभ्य मण्डलाको रुपमा प्रस्तुत गरिएको थियो जुन मण्डला विशेष आकर्षणको केन्द्र बनेको थियो।
तीन दिनसम्म सम्पन्न भएको उक्त भेला कार्यक्रमज १० हजार भन्दा बढि महानुभावहरुले अवलोकन गर्नुभएको थियो भने कार्यक्रम अवधिभर जम्मा रु २० लाखको कारोबार भएको थियो। साथै स्टलवालाहरुले उक्त कार्यक्रमलाई आफ्नो व्यवसाय प्रवर्द्वन गर्ने थलोको रुपमा प्रयोग गर्न सफल हुनु भएको थियो।
भेला कार्यक्रमको तेस्रो दिन अर्थात २०६७ मंसिर १२ गते समापान समारोह आयोजना गरिएको थियो। समापान समारोहको प्रमुख अतिथिको रुपमा नेफ्स्कुनका अध्यक्ष श्री मीन राज कँडेलज्यूलाई आमन्त्रित गरिएको थियो। कार्यक्रमका संयोजकज्यूले कार्यक्रमबारे जानकारी दिनु भएको थियो भने राष्ट्रिय सहकारी विकास बोर्डका उप-निर्देशक श्री शिव घिमिरेज्यू, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री धर्मराज शाक्यज्यूले मन्तब्य दिनु भएको थियो। समापान कार्यक्रममा स्टलवालाहरुको तर्फबाट बज्राचार्य हाण्डिक्राफ्ट चाकुपाटका श्री किरण बज्राचार्य र चिभा आर्ट कलेक्सन, नकबहिलका श्री कपिल शाक्यले आफ्नो अनुभव व्यक्त गर्नु भएको थियो। कार्यक्रमको क्रममा प्रमुख अतिथिज्यूले स्टल लिइ सहभागी हुने व्यवसायीहरु, पौभा चित्र उपलब्ध गराइदिनु हुने कलाकारहरुका साथै कार्यक्रमलाई विभिन्न सहयोग गर्ने संघ संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो। अन्तमा संस्थाका अध्यक्षज्यूले कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै समापन कार्यक्रम सम्पन्न भएको घोषणा गरियो। |
| |
| << Back |
|
|
|